Political Hightlights

कांग्रेस महाधिवेशन भड्किलाे र खर्चिलो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते २०:५३
कांग्रेस महाधिवेशन भड्किलाे र खर्चिलो (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत देशभर प्रदेश क्षेत्रदेखि प्रतिनिधिसभा निर्वाचन क्षेत्रसम्मका अधिवेशनहरु धमाधम भइरहेका छन् । स्थानीयस्तरमा भइरहेका अधिवेशनहरु खर्चिलो र भड्किलो हुन थालेका छन् ।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा पनि नेतारकार्यकर्ताहरुको तँछाडमछाड देखिन्छ । यस्तो भड्किलो प्रतिष्पर्धा हुँदा सक्षम व्यक्ति नेतृत्वसम्म पुग्नै नसक्ने कांग्रेस कार्यकर्ताहरु नै बताउँछन् ।

कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये करिव १ सय १५ क्षेत्रमा अधिवेशन शुरु गरेको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा प्रतिनिधिसभा क्षेत्र अधिवेशन शुरु भएको हो ।

यो अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि पनि चयन हुँदैछ । एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला अधिवेशन नै भएका छन् । तर, पार्टीको आन्तरिक प्रतिष्पर्धा अस्वस्थ्य देखिन थालेको छ ।

यो कास्की क्षेत्र नम्बर २ को अधिवेशनस्थल पोखरा प्रदर्शनी केन्द्र नयाँबजारको हो । प्रतिनिधिसभा क्षेत्रको सभापति तथा कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि कांग्रेस कार्यकर्ताहरु प्रतिष्पर्धामा उत्रिएका छन् ।

यहाँ ठूला पोष्टर, पम्प्लेट र उम्मेदबारको उल्लेख्य तस्वीरहरु प्रयोग भए । आ–आफ्नो समूह बनाएर चुनावमा होमिएका यी प्रतिष्पर्धीहरु ठूलै भाग खाउँला झैं तछाडमछाडमा देखिन्छन् । पार्टीको संशोधित विधानमा भएको छनोट प्रक्रियाले निर्वाचनलाई अस्वस्थ बनाएको नेताहरु नै स्वीकार्छन ।

कतिपयले प्रचारको नाममा अनावश्यक खर्च गरेर आर्थिक भार बढाएको टिप्पणी पनि गरेका छन् । यस्तो प्रचार–प्रसारले मतदाताको विवेक प्रयोगमा दबाब दिने तर्क गर्नेहरु पनि छन् ।

कास्कीमा जस्तै पाँचथरमा पनि भड्किलो शैली उस्तैछ । संसदीय निर्वाचनको झल्को दिने गरी उम्मेदबारहरु मैदानमा उत्रिएका छन् । कांग्रेसमा नीति र नेतृत्वको बहस हुनै छाडेको छ । उम्मेदवारका पक्षमा बनाइएका ब्यानर, पोष्टरले मतदान क्षेत्र भरिएको छ । दिनभर चर्को चर्को स्वरमा भोट मागिरहेको देखिन्थ्यो ।

भड्किलो चुनावी प्रचार र चहलपहलले कांग्रेसलाई कमजोर पार्ने कतिपय कार्यकर्ताको चिन्ता छ ।

समूह नै बनाएर सभापतिका लागि सुरेन्द्रकुमार दाहाल र रुपनारायण जवेगु प्रतिष्पर्धामा हुनुहुन्छ । महाधिवेशन प्रतिनिधिमा समेत टकराव रहेको छ । अबको कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ भन्ने बहसभन्दा कसले बढी प्रचार गर्न सक्यो भन्नेमा अधिवेशन केन्द्रित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्