Political Hightlights

व्याक गेयरमा रवीन्द्र मिश्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १२ गते २०:४४
व्याक गेयरमा रवीन्द्र मिश्र (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०७८ काठमाडौं । नयाँ दल, युवा समूह अनि देश विदेशमा पढेकाहरुको बाहुल्यता । सामाजिक संजालमा सक्रृय युवाहरुको साझा पार्टी विवेकशील साझा पार्टी यतिबेला पुरानै राजनीतिक दलहरुको फर्मूलामा राजनीतिक बहस गरिरहेको छ ।

राजनीतिक व्यवस्था र शासकीय प्रणालीमा समेत व्याक गेयर लगाएर अध्यक्ष रवीन्द्र मिश्रले देशलाई पछाडि फर्काउने दुस्साहस गरिरहनुभएको आरोप छ। अन्ततः पत्रकारिताजस्तो राजनीति सजिलो नभएको पुष्टि भएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र हिन्दू राज्य पुनर्स्थापनाको विचारसहित व्यक्तिगत धारणा भन्दै सार्वजनिक गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ दस्तावेज पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मतिमा पारित भएको छ ।

संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको, नेपालको अखण्डताका लागि घातक भएको, मुलुकका प्रमुख संस्थालाई क्षयीकृत गर्ने कडीको रुपमा स्थापित भएकाले खारेज हुनुपर्ने मिश्रको धारणा छ । अनि आफ्नो दस्तावेजमा मिश्रले धर्म निरपेक्षता कहाँबाट आयो भन्ने प्रश्न पनि गर्नुभएको छ ।

उहाँले नेपाल धर्म सापेक्ष भए पनि धर्म सापेक्षताको प्रकृतिअनुसार शासन प्रणाली निर्देशित नभएकाले धर्म निरपेक्षताको एजेण्डा विदेशी चलखेलमा घुसाइएको अनुमान लगाउनु भएको छ । र २०६२–६३ को जनआन्दोलनमा धर्म निरपेक्षता कसैको पनि आवाज नभएको मिश्रको दाबी छ ।

आम निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेर पनि सत्ता टिकाउन, जनअपेक्षाअनुसार काम गर्न र कम्युनिष्ट नामको साख जोगाउन नसकेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भर्खरै बहिर्गमन भएका बेला मिश्रले व्यक्तिगत धारणा भन्दै सार्वजनिक गरेको यो दस्तावेज बिहीबार बसेको पार्टीको भर्चुअल बैठकले पारित गर्दै मिश्रको व्यक्तिगतबाट पार्टीको आधिकारिक दस्तावेज बनाएको हो ।

यो दस्तावेज पारित भएसँगै विवेकशील साझा पार्टी फेरि फुट निकट पुगेको छ भने मिश्र नेतृत्वको पार्टीमाथि पतनको बाटोमा जान थालेको टिप्पणी भइरहेको छ । तत्कालीन नेकपामाथि मतदाताले गरेको भरोसालाई ओलीले लोपारेपछि नागरिकमा दलहरुप्रति नै चरम निराशा उत्पन्न हुन थालेको थियो । त्यसपछि सत्ताको भ¥याङका लागि गरिएको अलौकिक गठबन्धनका कारण दलहरुप्रति अविश्वास बढिरहेका बेला मिश्रले धमिलो पानीमा माछा मार्न प्राप्त उपलब्धिविरुद्ध जनमत संग्रहको जाल हान्नु भएको थियो ।

विश्वकै उत्कृष्ट भनिएको संविधानमाथि नै धावा बोल्दै मिश्रले प्राप्त उपलब्धिहरु उल्टाउने दुष्साहसका लागि ४० पेज खर्चिनु भएको थियो ।

परम्परागत शैलीका दलहरु, वर्षौदेखि परीक्षण भइरहेको नेतृत्व र उपलब्धि भनेर दाबी गरिएका सबै व्यवस्थामा दोहिरने पुरानै प्रवृत्तिले वाक्क दिक्क भएका नागरिक वैकल्पिक शक्तिसँग केही आशा गर्नु स्वभाविक थियो ।

त्यसैकारण हुन सक्छ नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तहको निर्वाचनमा मिश्र नेतृत्वको साझा पार्टीका उम्मेदवारहरुले आशालाग्दो मत प्राप्त गरेका थिए ।

त्यही निर्वाचनमा अर्को पार्टी विवेकशील नेपाली दलले पनि उल्लेख्य छाप छोडेको थियो । निर्वाचनपछि यीनै दुई पार्टी एकीकृत भएर विवेकशील साझा पार्टी बन्दा रवीन्द्र मिश्र थप हौसिनु भएको थियो । तर उहाँको कार्यशैलीमाथि प्रश्न उठाउँदै विवेकशील धार पार्टीबाट चोइटिएको थियो । फेरि पनि एकजुट भएका विवेकशील र साझ अन्ततः फुट रोज्दैछन् ।

वैकल्पिक भनिएको शक्तिमा परम्परागत प्रणालीलाई सुधार गर्ने विकल्पहरु हुनुपर्ने हो । आम रुपमा स्वीकार गरिएको शासन प्रणालीलाई अपेक्षित रुपमा कार्यान्वयन गर्न सही विचार र सिद्धान्त हुनुपर्ने हो । तर जुन व्यवस्था ल्याउन वर्षौँसम्म तपस्या गर्नुपर्यो त्यो व्यवस्था कार्यान्वयन गर्ने पात्रहरुको प्रवृत्ति फेरिएन भन्दैमा व्यवस्थामाथि नै प्रश्न उठाएर पश्चगामी दिशा समात्ने कस्तो वैकल्पिक धार हो भन्ने प्रश्नहरु उठेका छन् ।

मिश्रले आफ्नो दस्तावेजमा राजतन्त्रकोसमेत पक्षपोषण गर्नुभएको छ । राजा नै फर्काउनुपर्छ नभनिए पनि राजतन्त्र हटाउने एजेण्डामा विदेशीले सहयोग गरेको तर्क गर्न भ्याउनु भएको छ ।

वैकल्पिक विचार र सिद्धान्त भनेर दाबी गरिए पनि मिश्रले आफू भिडको पछाडि कुदेको कुरा भने स्पष्ट रुपमा उल्लेख गर्नुभएको छ । म पनि धर्मनिरपेक्षतावादी हुँ भन्दै मिश्रले धरातलीय यथार्थलाई नजरअन्दाज गरेर विचारको कोरा अनुशरण गर्न खोज्दा समाज ध्वस्त हुने जिकिर गर्नुभएको छ ।

त्यसो भए आफ्नो विचारमा विर्को लगाएर भिड्कै शरणमा पर्ने भए कस्तो वैकल्पिक शक्ति हुन सक्छ त ? परम्परागत विचारले समाज परिवर्तन हुन सकेन त्यसैले अर्को विचारको विकल्प दिएका हौँ पनि भन्ने अनि धरातललाई नजरअन्दाज गर्न नसक्ने हो त ? त्यसो भए दलहरुको बजारमा तपाईँले खोलेको नयाँ सटरमा घुन लागेकै चामल किन्न ग्राहक आउनु पर्ने हो ? कि मेनु हेर्ने हेर्ने अनि अन्त्यमा मोमो नै मगाउने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्