सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गर्ने माओवादी केन्द्रको निर्णय (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ ।
बिहान बसेको माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको प्रवक्ता महाराको भनाइ छ । त्यस्तै बैठकले १४९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ भने जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।
लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकिएको छ भने टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ ।
बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले जानकारी दिनुभयो । अर्को बैठक कार्तिक ४ गते पुनः बस्नेछ ।
माओबादी केन्द्र को app बनाउनु परो हैछ भने जानकारी पाउ