Political Hightlights

खोजी वैकल्पिक राजनीतिक दलको, नयाँमा पनि देखियो पूरानै रोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते २१:०१
खोजी वैकल्पिक राजनीतिक दलको, नयाँमा पनि देखियो पूरानै रोग (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । नेपालका मूलधारका र पूराना राजनीतिक दलहरुबाट जनता निराश छन् । पूराना राजनीतिक दल र नेतृत्वबाट अपेक्षाकृत रुपमा देशको विकास हुन नसकेपछि जनताले विकल्पको खोजी गरिरहेका छन् । ६२ –६३ सालको जनआन्दोलनपछि नेपालमा दर्जनौं राजनीतिक दल स्थापना पनि भए तर ती दलहरुले पनि जनतामा आशाको सञ्चार गराउन सकेनन् । बरु उनीहरुमा पनि पूरानै रोग देखियो ।

माइतीघर मण्डलामा केही वर्ष अघि युवाको एक समूहले नियमित विरोध कार्यक्रम गर्थ्यो । विभिन्न माग राखेर गरिने यस्ता प्रदर्शनले धेरैको ध्यान खिच्यो पनि । विरोध भन्नासाथ बन्द हडताल र तोडफोड हुने देशमा प्लेकार्ड बोकेर शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने युवाहरुले धेरैको ध्यान खिच्नु स्वभाविकै थियो ।

रचनात्मक रुपमा आन्दोलन गर्ने यिनै युवाहरुको समूहमा थिए उज्वल थापा, मिलन पाण्डे, रञ्जु दर्शना लगायतका व्यक्तिहरु । नेपालमा वैकल्पिक राजनीतिको अभियानको परिकल्पना गर्ने युवा यिनै थिए । यही अभियानको नामबाटै पछि विवेकशील नेपाली दलको उदय भयो ।

युवाहरुको बाहुल्यता रहेको नयाँ दललाई वैकल्पिक शक्तिको रुपमा हेरियो । पछि पत्रकार रवीन्द्र मिश्रले पनि बीबीसी नेपाली सेवाको जागिर छाडेर साझा पार्टी खोल्नुभयो । समाजका दिग्गज व्यक्तिहरु र पूर्वप्रशासक सहभागी साझा पार्टीलाई पनि वैकल्पिक शक्तिको रुपमा हेरियो । दुवै दल छुट्टाछुट्टै निर्वाचनमा सहभागी भए । ठूला र परम्परागत राजनीतिक दललाई पराजित गर्न नसके पनि जनताबाट पाएको मतले यी दलहरु उत्साहित भए ।

भारतमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले दिल्लीमा सरकार बनाए जस्तै नेपालमा पनि कुनै समय वैकल्पिक शक्तिको उदय हुने अडकलबाजी पनि भयो । तर त्यो अडकलबाजी गलत सावित हुन पुगेको छ ।

वैकल्पिक शक्ति र राजनीतिमा असल संस्कार प्रस्तुत गर्ने अपेक्षा गरिएका दलहरुमा पनि पुरानै रोग देखियो । विवेकशील र साझा दल एकीकरण र फुटको चक्रमा नराम्ररी फसेका छन् । आपसी दन्त बझानले विश्वासमा खडेरी पर्न थालेको छ, परम्परागत दलहरुका लागि खुच्चीङ गर्ने बाटो मिलेको छ । अहिले पनि पुन एकीकरणको जगमा बनेको विवेकशील साझा छानो एक भान्छा अनेकको हालतमा छ । जुनसुकै बेला विभाजन हुन सक्ने अवस्थामा विवेकशील साझा पार्टी रहेको छ । टुटफुट र एकीकरण नेपालको राजनीतिमा पुरानै रोग हो, जुन रोगबाट वैकल्पिक शक्तिहरु पनि मुक्त हुन सकेनन् ।

राजनीति लामो यात्रा हो । राजनीतिमा टिकिरहन जनाधार बनाउनुपर्छ । बलियो संगठन निर्माणको आवश्यकता पर्छ । जनताको बीचमा आफ्ना दृष्टिकोण र एजेण्डाहरु स्पष्ट रुपमा राख्न सक्नुपर्छ । त्यस विपरीत वैकल्पिक शक्तिहरु गाउँगाउँ गएर संगठन निर्माणभन्दा सामाजिक सञ्जालमै सीमित हुन पुगेका विश्लेषकको मत छ ।

विवेकशील साझा पार्टी मात्रै नभएर तत्कालीन माओवादीबाट अलग भएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नयाँ शक्ति नामक राजनीतिक दल स्थापना गर्नु भयो । नयाँ दल खोलेपछि भट्टराईले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा अगाडि ल्याउने उद्घोष गर्नु भएको थियो । भट्टराईले नयाँ दल त खोल्नु भयो तर नयाँ शक्तिको रुपमा स्थापित गर्न सक्नु भएन । बरु नयाँ दलबाट पार लगाउन नसकेपछि उपेन्द्र यादवको संघीय समाजवादीमा डेरा सरेका डा भट्टराई अहिले यादवसँगै जनता समाजवादीको नेता बन्नुभएको छ।

वैकल्पिक दलहरुले देशमा आमुल परिवर्तन र सुधारका लागि भन्दा पनि पुराना राजनीतिक दलहरुप्रति जनताको निराशाको फाइदा मात्रै उठाउन खोजेको विश्लेषकको धारणा छ । बल्छि थापि हाल्यो, माछो परे परि हाल्ला नपरे केही छैन भने जस्तै वैकल्पिक दलहरुले पनि मूलधारका राजीतिक दलहरुको वितृष्णाको फाइदा उठाउन खोजेको विश्लेषक बताउँछन् ।

वैकल्पिक दलहरु आफैंमा स्पष्ट नदेखिएपछि र उनीहरुको राजनीति दीर्घकालीन नदेखिएपछि युवाहरुले पनि पत्याउन छाडेका छन् । पुरानै दलमा बस्दा मह काढ्न र हात चाट्न पाइने भएपछि त्यतै युवाको आकर्षण देखिन थालेको छ । नेपालको इतिहासमा धेरै दलहरु खुले पनि जनताको विश्वास भने कमैले जित्न सकेका छन् । वैकल्पिक र क्षेत्रीय दलको असफलताकै कारण पनि तीन दशकदेखिको नेपाली राजनीति र सत्तामा कांग्रेस, एमालेको हालिमुहाली छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्