एमालेको पहिलो विधान महाधिवेशनले सांगठनिक संरचनामा गर्यो यस्तो फेरबदल

१७ असोज २०७८ ललितपुर । सांगठनिक संरचनामा फेरबदल गर्दै नेकपा एमालेको पहिलो विधान महाधिवेशन सकिएको छ।
ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले नेकपा एमालेमा पहिलोपटक वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था पारित गरेको हो ।
उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि भएको समूहगत छलफलपछि पार्टीमा एक वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको छ भने उपमहासचिवको संख्या घटाएर १ मा झारेको छ ।सचिवको संख्या भने ७ पुर्याइएको छ ।
महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
एमाले विधान महाधिवेशनका मुख्य उपलब्धि
सांगठनिक संरचनमा फेरबदल
केन्द्रीय कमिटी २२५ सदस्यीय हुने
स्थायी कमिटी ४५ सदस्यीय हुने
अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, महासचिव १, उपमहासचिव १, र सचिव ७
प्रदेश कमिटी ५० सदस्यीय
जिल्ला कमिटी ५० सदस्यीय
पालिका कमिटी ५० सदस्यीय
वडा कमिटी ३१ सदस्यीय
सक्रिय जिम्मेवारीमा ७० वर्षको उमेर हद, निर्वाचन भएपछि ७० वर्ष पुगेकाले बाँकी कार्यकाल नेतृत्वमै बस्न पाउने
लोगो परिवर्तन : अब एमालेको लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा हुनेछ।
प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह गठन गरिएको थियो । समूह नेताहरुले उठाएका प्रश्नहरुको अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले जवाफ दिएपछि प्रतिवेदनहरु सर्वसम्मत ढंगबाट पारित भएको हो। एमालेमा अब १५ सदस्यीय केन्द्रीय पदाधिकारी र ४५ सदस्यीय स्थायी कमिटी रहने छ।
एमालेले पोलिटब्यूरो भने खारेज गरेको छ । ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले केन्द्रीय सदस्य हुनका लागि मापदण्ड बनाएको छ । यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ ।
त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएको व्यक्ति योग्य हुने भनिएको छ । महाधिवेशनबाट पार्टीको लोगोमा परिमार्जन गरेको छ ।
प्रतिक्रिया