चीनसँग हुम्लाको नाम्खामा सीमा समस्या रहेको अध्ययन समितिको ठहर

हिमालय टिभी
२०७८ असोज ११ गते ८:३९
चीनसँग हुम्लाको नाम्खामा सीमा समस्या रहेको अध्ययन समितिको ठहर

११ असोज २०७८ काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकास्थित चीनसँगको सीमा क्षेत्रमा समस्या रहेको निश्कर्षसहित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समिति संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई हिजो प्रतिवेदन बुझाउनुभएको हो । समितिले सीमामा समस्या रहेकाले दुई देशको स्थायी संयन्त्रमार्फत समाधान खोज्न सिफारिस गरेको हो ।

प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, समाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, सीमाना लगायतको अवस्था समेटिएको छ । समितिले सीमा लगायतका द्वीपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत समाधान गर्न सुझाव दिएको हो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न समितिले बाटो खुलाएको भन्दै प्राप्त सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गृह मन्त्रालयले दुई साताअघि सहसचिव जयराज आचार्यको संयोजकत्वमा नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । भदौ २५ मा १५ दिनको समय लिई टोली हुम्ला गएको थियो ।

असोज २ गते अध्ययन टोली काठमाडौं फर्किएर प्रतिवेदन लेखनमा जुटेको हो । प्रतिवेदनमा उल्लेख गरिएका सुझाव भने गृहले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *