एमाले स्थायी कमिटी बैठक आज बस्दै
२५ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
दिउँसो बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
एमालेले विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा गर्ने तालिका तय गरेको छ । त्यसअघि विधान मस्यौदामाथि छलफल गरेर सुझाव मागिएको छ ।
स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।
विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् । आजको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना छ ।
माधवकुमार नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ ।
प्रतिक्रिया