समाज

१८ महिनामा बनाउने भनेको कोल्ड स्टोर ९ वर्षमा पनि बनेन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते ६:४७
१८ महिनामा बनाउने भनेको कोल्ड स्टोर ९ वर्षमा पनि बनेन (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ७, बाघखोरमा नौ वर्षसम्म पनि शीत भण्डार निर्माणको काम पूरा हुन सकेको छैन् ।

भारतीय दूतावासको झण्डै ५ करोड रुपैयाँ र नपुग रकम तानसेन नगरपालिकाको सहयोगमा दुई हजार टन क्षमताको कोल्ड स्टोरको निर्माण शुरु गरिएको थियो । १८ महिनामा काम सम्पन्न गर्ने सम्झौता गरिए पनि नौ वर्षसम्म २७ प्रतिशत मात्र काम भएको छ ।

बहादुर सिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले २०६९ साल फागुन २३ गते सम्झौता गरी १५ महिना भित्र सम्पन्न गर्ने शर्तमा शीत भण्डार निर्माणको काम थालेको हो । तर पटकपटक म्याद थप गरिए पनि नौ वर्षसम्म शीत भण्डारको भवन अलपत्र बनेको छ।

पाल्पा, गुल्मी, स्याङ्गजा र अर्घाखाँचीका कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डार गरी नोक्सानी कम गर्ने सरकारको योजना थियो । किसानले उत्पादित बस्तुलाई लामो समयसम्म ताजा राख्न र राम्रो मुल्यका निम्ति चिस्यान केन्द्रमा भण्डारण गर्ने चलन छ । नजिकै रहेको शित भण्डार निर्माणको काम अलपत्र हुँदा यहाँका किसानले बीउ विजन चिस्यान केन्द्रमा भण्डारण गर्न रुपन्देहीको भैरहवा लैजानुपर्ने बाध्यता छ ।

निर्माण व्यवसायीले निर्माणाधिन शित भण्डारको संरक्षण गर्न भारतीय नागरिकलाई हेरालुको जिम्मेबारी दिएको छ । चार वर्षदेखि निर्माण पक्षबाट पारिश्रमिक पाउन सकेको छैन । पारिश्रमिक नपाउँदा बिहान साँझको छाँक टार्न समेत समस्या भएको छ । ठेक्कदारलाई फोन गरे पनि नउठाउँदा थप समस्या भएको हो । तरकारी र चामल खाएको पैसा तिर्न नसक्दा झनै समस्या देखिएको हो ।

तानसेन नगरपालिकाले तीन पटक म्याद थप्दा समेत काम पुरा हुन सकेन । वि।सं। २०७५ साल माघ ८ गते काम पूरा गर्न अन्तिम म्याद दिएको थियो । नगरपालिकाले मितिमा काम पुरा नगरेपछि क्षतिपूर्ति वापत ४८ लाख २२ हजार ५५ रुपैयाँ भुक्तानी गर्न व्यवसायीलाई पत्राचार गरेको थियो ।

व्यवसायीले क्षतिपूर्ति मिनाह गर्नुपर्ने र कामको मूल्यांकन गरी ५० लाख रुपैयाँ पाउनुपर्ने दावी गरेको छ । तानसेन नगरपालिकाले पटक पटक गरी २ करोड १६ लाख रुपैयाँ भुक्तानी दिएको छ । तानसेन नगरपालिका, भारतीय दुताबास र निर्माण व्यवसायी बीच छलफलमा काम गर्ने लिखित सहमति भए पनि काम पुन सञ्चालन हुन सकेको छैन । कानुनी रुपमा समस्या हुँदा निर्माण व्यवसायी पक्षलाई हटाउन सकिएको छैन । शित भण्डारको काम नहुँदा नगरपालिकालाई नै लज्ज्ति बनाएको छ ।

शीत भण्डारको अभावले कृषि उत्पादन सस्तो मूल्यमा विक्री गर्नुपर्ने बाध्यता हटेको छैन । निर्धारित समयमा काम पुरा नगर्ने निर्माण व्यवसायीलाई सरकारले कारबाही गर्न नसक्दा राज्यको पैसा बालुवा पानी खन्याए जस्तै भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *