एमाले विभाजनमा नेपालको साथ छाडेका ९ जना नेताले ओलीसँग गरे यस्तो माग

४ भदौ २०७८ काठमाडौं । माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाउने निर्णयमा असहमति राखेका नौ नेताले अझै पनि एकताको सम्भावना रहेको दाबी गरेका छन्।
एमाले उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले विज्ञप्ती निकालेर एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीको निर्णय सच्याउनुपर्ने माग गरेका छन्।
नेपालले नयाँ पार्टी खोल्ने निर्णय फिर्ता लिनुपर्ने पनि उनीहरुको आग्रह छ । पार्टीलाई विभाजन हुनबाट बचाउन अध्यक्ष ओलीले १० बुँदे सहमतिको तत्काल कार्यान्वयन गर्न र माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही रद्द गर्न उनीहरुको आग्रह छ ।
पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन ९ नेताको अपिल छ ।
उनीहरुले पार्टी फुटाउनकै लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको पनि विरोध गरेका छन्। यो अध्यादेशले नेपालको लोकतान्त्रिक प्रणाली नै अस्तव्यस्त बनाउने उनीहरुको तर्क छ।
उनीहरुले यो अध्यादेशले एमालेमा मात्र नभइ सबै राजनीतिक दलमा समेत प्रभाव पार्ने र देश राजनीति अनिश्चयको दलदलमा फस्ने खतरा रहेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन्।
प्रतिक्रिया