भारतले मिचेको भूमि नेपालमा भन्न नसकेकोमा एमालेले उठायो सरकारमाथि प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते १९:०१
भारतले मिचेको भूमि नेपालमा भन्न नसकेकोमा एमालेले उठायो सरकारमाथि प्रश्न (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतले मिचेको भूमि नेपालको भन्न नसकेको भन्दै देउवा सरकारमाथि प्रश्न उठाएको छ ।

हिजो सार्वजनिक गरिएको साझा न्यूनतम कार्यक्रमबारे टिप्पणी गर्दै एमालेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भन्न नसकेको भन्दै आपत्ति जनाएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो भूमिलाई पनि समस्याका रुपमा राखेको भन्दै कडा आपत्ति जनाउनुभयो ।

हिजो सार्वजनिक भएको सरकारको साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा र कालापानीमा सीमा समस्या भएको उल्लेख छ । यसैमा एमालेले आपत्ति जनाएको हो ।

यस्तै एमालेले चीनसँग कृत्रिम सीमा विवाद खडा गर्न खोजेको भन्दै देउवा सरकारको आलोचना गरेको छ । चीनसँग सीमा विवाद नभए पनि सरकारले छ भनेर देखाउन खोजेको पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले टिप्पणी गर्नुभयो ।

सरकारको साझा न्यूनतम कार्यक्रममा भारत र चीन भन्ने उल्लेख नगरी छिमेकीसँगको सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान खोज्ने भनिएको छ । अघिल्लो सरकारले चीनसँग सीमा विवाद नरहेको बताएको थियो ।

तर देउवा सरकारले भने चीनसँग पनि समस्या रहेको अर्थ लाग्ने गरी कार्यक्रममा त्यो विषय उल्लेख गरेको छ । सरकारले शुरुदेखि नै जनविरोधी काम गरेको भन्दै एमालेले कडा आपत्ति जनाएको छ ।

नयाँ सत्ता गठबन्धनलाई अवसरवादी भन्दै यसबाट धेरे अपेक्षा नरहेको एमालेको प्रतिक्रिया छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *