आजका लागि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

२४ साउन २०७८ काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलिका लागि सारिएको छ ।
अध्यक्ष केपी ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी बैठक बोलाइएको छ । दुबै पक्षका लागि यो बैठक निर्णायक मानिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने यसअघि ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।
ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए । तर नेपाल पक्षले ओली पक्षलाई बैठक बोलाउन र अधिवेशनका लागि अन्य गतिविधि गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएको थियो ।
ओली पक्षले भने नेपाल पक्षलाई बैठक तथा अन्य गतिविधि नगर्न चेतावनी दिंदै आएको छ। नेपाल समूहका बैठकलाई अनधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।
आजको बैठक स्थगित गर्नुलाई एमालेको संस्थापन पक्षले नरम नीति लिएको रुपमा बुझिएको छ ।
प्रतिक्रिया