Political Hightlights

महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो

हिमालय टिभी
२०७८ असार १५ गते २०:२१
महाधिवेशन नजिकिदै गर्दा नेताहरु निधि, सिंह र कोइरालाको सक्रियता बढ्दो

१५ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच आज पार्टीको १४ औँ महाधिवेशन केन्द्रित विषयमा छलफल भएको छ ।

नेता सिंहको निवास चाक्सिबारी ठमेलमा भएको भेटवार्तामा उहाँहरुबीचको छलफलको दायरालाई फराकिलो बनाउँदै जाने सहमति भएको नेता सिंहले जानकारी दिनुभयो । यस अघि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइराला निवासमा पनि छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो ।

आगामी शुक्रबार महामन्त्री सशाङ्क कोईराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी बाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल गर्ने र त्यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने नेता सिंहले बताउनुभयो ।

साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा सहमति भएको उहाँले बताउनुभयो । नेताहरु कोइराला, सिंह र निधि कांग्रेसका संस्थापक नेतात्रय क्रमशः विपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र हुनुहुन्छ ।

महाधिवेशन मिति नजिकिदै गर्दा नेतृत्वमा कसरत सुरु
महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा यही असार ११ गते कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

सोमबार पनि नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका उम्मेदवार हुनुहुन्थ्यो ।

यही असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल शुरु गरिसक्नु भएको छ ।

संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्