Political Hightlights

एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकसमेत अनिश्चित

हिमालय टिभी
२०७८ जेठ ४ गते ८:२७
एमाले विवाद समाधान गर्न गठित कार्यदलको पहिलो बैठकसमेत अनिश्चित

४ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठक नै अनिश्चित बनेको छ । कार्यदल गठन भएको तीन दिन बितिसक्दा पनि पहिलो औपचारिक बैठक बस्न सकेको छैन ।

विवाद समाधानका लागि गत आइतबार दुबै पक्षका पाँच–पाँच जना रहने गरी १० सदस्सीय कार्यदल गठन गरिएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट वार्ता टोलीका संयोजक सुवासचन्द्र नेम्वाङले अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक बैठकको टुंगो नलागेको बताउनुभयो । छिट्टै औपचारिक बैठक बसेर विवाद समधान गरिने उहाँको भनाइ छ ।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट वार्ता टोलीका सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म बैठकका लागि कुनै जानकारी नआएको बताउनुभयो ।
नेपाल पक्षले तीन दिनभित्र सहमति हुनुपर्ने सर्त राखे पनि एउटा पनि बैठक नबसी त्यो समय गुज्रने देखिएको छ ।

कार्यदललाई कहिलेसम्म प्रतिवेदन दिने भन्ने प्रष्ट पारिएको छैन । यसको असर जेठ ६ गते हुने राष्ट्रिय सभा चुनावलाई प्रभावित गर्ने देखिन्छ । किनकी मैदानमा एमालेकै रामबहादुर थापा र डा खिमलाल देवकोटा हुनुहुन्छ ।

ओलीले सहमतिको म्याद ६ गतेभन्दा पछि धकेलेर गृहमन्त्री थापालाई भोट हाल्न लगाउने र पछि धोका दिने आशंका नेपाल पक्षले गरेको छ ।

जेठ २ मा फर्किने उपायको खोजी, फागुन २३ पछि दुवै समूहले गरेका निर्णय खारेजी, माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको व्यवस्थापन र विगतको समीक्षा गर्नका लागि भन्दै कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्