माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने

७ वैशाख २०७८ काठमाडौं । वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माणलगायतका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो । हिजो बोलाइएको बैठक अरु राजनीतिक दलसँगको छलफलका कारण स्थगित गरिएको थियो ।
समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको उहाँको भनाइ छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन हिजो अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको छ ।
प्रतिक्रिया