बाँकेको नरैनापुरका आगलागी पीडितलाई अस्थायी बसोबासको व्यवस्था (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ बाँके । बाँकेको नरैनापुरमा शनिबार भएको आगलागीमा परेर घरबारविहीन भएका ६८ परिवारलाई अस्थायी बसोबासका लागि टेन्ट र खाद्य सामग्री वितरण गरिएको छ ।
आगलागीमा परेर ६८ घर परिवारका १ सय २० घरटहरा ध्वस्त भएका थिए । आगलागी पीडितलाई ४० वटा टेन्टमा अस्थायी रुपमा बसोबास गर्ने व्यवस्था मिलाइएको छ ।
नेपालगन्जबाट करिब ४० किलोमिटर पूर्वमा रहेको नरैनापुर गरिव र विपन्न परिवारको बसोबास भएको क्षेत्र हो । नरैनापुरका अधिकांश गाउँमा ८० प्रतिशत भन्दा बढी फुसका घर छन् ।
गाउँलेलाई हिउँद लागेपछि कति बेला आगलागीको चपेटामा परिएला भन्ने चिन्ता हुन्छ । यो बर्ष फागुनदेखि हालसम्म नरैनापुरमा आगलागीमा परेर १ सय ५५ घर नष्ट भइसकेका छन् । घरको छानोमा टिन मात्रै लगाउन सक्दा धेरै हुने भएपनि गाउँलेसँग पैसा छैन । फुसको छानो भएकै कारण उनीहरुले सास्ती भोग्नुपरेको छ ।
राहत र खाद्य सामग्री लिएर बस्तीमा पुगेका जनप्रतिनिधि र प्रशासनसँग स्थानीय बासिन्दाले आगलागीबाट बच्न टिनको छाना भएको घर निर्माण गरिदिन आग्रह गरेका छन् । टिनको छानाका लागि तीनै तहका सरकारको पहल आवस्यक रहेको प्रशासनको भनाइ छ ।
संघीय सरकारले पीडितको पुनर्स्थापनाका लागि प्रतिपरिवार मात्र २० हजार रूपैयाँ राहत दिने तयारी गरेको छ ।
प्रतिक्रिया