समाज

१५ दिनसम्म चल्ने मिथिला माध्यमिकी परिक्रमा शुरू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते २०:५८
१५ दिनसम्म चल्ने मिथिला माध्यमिकी परिक्रमा शुरू (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ जनकपुरधाम । मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा शुरु भएको छ । यसमा नाङ्गो गोडा १ सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । प्रत्येक दिन १५ स्थलमा राति विश्राम गरेर तय गरिने यो धार्मिक यात्राले नेपाल भारतको सम्बन्धलाई समेत जोड्ने काम गरेको छ ।

‘जय सियाराम जय जय सियाराम’ को जाप गर्दै नेपालको १ सय ५ र भारतको २८ गरि कुल एक सय ३३ किलोमिटर लामो पैदल धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा शुरु भएको छ । मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी जीको डोला निस्कएसँगै परिक्रमा शुरु भएको छ ।

सन् १८९० तिर साधुसन्त लिएर वन जंगलको बाटो भएर माध्यमिकी परिक्रमा शुरु भएको जनविश्वास छ । त्यतिबेला जंगलमा भालुले साधुसन्तलाई खाने गरेकाले तिनलाई धपाउन परिक्रमाको थालनी भएको किंवदन्ती छ । तत्कालीन मिथिला बिहारी मन्दिरमा जिउँदै समाधि लिएका महन्थ लाढली लाल जी शरण र जनकपुरधामको रत्नसागर स्थानका महन्थ बाबा नारायण दासजीलगायतले मिलेर परिक्रमा शुरु गरेको मानिन्छ ।

आफू बिरामी भएपछि केही वर्ष स्थगित भएको परिक्रमा महन्थ लाढली लालजी शरण स्वस्थ्य हुँदा फेरि शुरु भयो । त्यसपछिका मिथिला बिहारीका महन्थ दिवंगत नवलकिशोर शरणले परिक्रमाको खुवै प्रचार प्रसार गर्नुभयो । र, यसको प्रभावकारिता बढ्दै गयो । यो परम्परालाई अहिलेका महन्थ राम नरेश शरणले जारी राख्नुभएको छ ।

मिथिलाञ्चलको मध्य भू–भाग राजर्षि राजा जनकको दरबार क्षेत्रमा रावणको अत्याचार बढेपछि राजा जनकले भगवान शिवलाई गुहार्नु भयो । र, भगवान शिवले भारत बिहारको कलानेश्वरनाथ, महोतरीको जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरनाथ र सप्तेश्वरनाथको रुपमा दरबारको चारवटै कुनाबाट मध्य मिथिला दरबार क्षेत्रको सुरक्षा गरेकाले यी चार शिवालयको परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिएको हो ।

परिक्रमामा सहभागी खाली खुट्टा हिँड्ने भएकाले शरीरको रक्तसञ्चार ठिक भई स्वस्थ्य हुने, मन, बचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । मठमन्दिरका साधुसन्तहरुसहित भजनकीर्तन गर्दै नेपाल–भारत दुवै देशका गाउँ टोलका बासिन्दाले परिक्रमाका क्रममा विश्रामस्थलमा एकै ठाउँ भण्डारा बनाएर खाने गरेकाले आपसी समझदारी र सदभाव समेत कायम हुने विश्वास छ ।

मिथिला क्षेत्रमा प्रत्येक वर्ष होलीको दुई साता अघि यो परिक्रमा शुरु हुन्छ । १५ दिनसम्म विभिन्न स्थलको पैदलै परिक्रमा गर्नु नै मिथिला माध्यमिकी परिक्रमा हो । १५ दिने परिक्रमाअन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन रही आएको छ । यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *