Political Hightlights

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

हिमालय टिभी
२०७७ फागुन १८ गते १६:२१
भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

१८ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गर्नु भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गर्नुभयो । उहाँले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउन प्रचण्ड–नेपाल समूहलाई सुझावसमेत दिनु भएको छ । उहाँले भन्नुभयो,‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’

सांसद बस्नेतले भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गर्नुभयो । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उहाँले दाबी गर्नुभयो । सांसद बस्नेतले अबब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको बताउनुभयो ।

पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनर्स्थापनाको फैसला आएपछि ढंग पुर्‍याइएन भने फेरि राजनीतिक अस्थिरता शुुरु हुन्छ र विकृति शुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’

बस्नेतले अहिले प्रचण्ड–नेपाल समूह ‘फ्रन्ट–गियर’ मा नभई ‘ब्याक–गियर’मा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूह पुस ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकाले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बस्नेतको भनाइ छ । उहाँले नेकपा अहिले विभाजन नभएको जिकिरसमेत गर्नुभयो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपछि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उहाँले उल्टै प्रश्नसमेत तेर्स्याउनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने दाबी गर्नुभयो । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुंगो लगाउन भनेकाले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समीकरण ‘बोकाको मुखमा कुभिण्डो’ भएको बस्नेतको भनाइ छ । उहाँले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने भविष्यवाणीसमेत गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्