नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ संसदीय दलको बैठक बोलायो
६ माघ २०७७ विराटनगर । भोलिदेखि शुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।
प्रचण्ड–माधव समूहले आज दिउँसो होटल एसियाटिकमा बैठक बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ ।
बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण आजका लागि बोलाइएको बैठक स्थगित भएको बताउनुभयो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । नेकपाभित्रैको एउटा समूह कतै नखुलेपछि ओली समूहको बैठक रोकिएको हो ।
प्रचण्ड–नेपाल समूहका नेता इन्द्रबहादुर आङ्बोले बहुमत सदस्यको उपस्थितिमा आफ्नो समूहको बैठक बस्ने दाबी गर्नुभयो । बुधबार दिउँसो २ बजेबाट शुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिक्रिया