राम जन्मभूमि मानिएका माडीमा अयोध्याधाम निर्माणका लागि डीपीआर निर्माण शुरु

हिमालय टिभी
२०७७ मंसिर १९ गते ७:५१
राम जन्मभूमि मानिएका माडीमा अयोध्याधाम निर्माणका लागि डीपीआर निर्माण शुरु

१९ मंसिर, २०७७ चितवन । भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणको काम शुरु भएको छ ।

अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई डीपीआर निर्माणको काम शुरु भएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अयोध्याधाम निर्माणको कामलाई तीव्रता दिइएको नगर प्रमुख ढकालको भनाइ छ ।

अर्को वर्ष २०७८ सालको चैततिर पर्ने रामनवमीका अवसरमा भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति अनावरण गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिन प्रधानमन्त्री ओलीबाट निर्देशन भए बमोजिम कामलाई अगाडि बढाइएको ढकालले बताउनुभयो ।

उहाँका अनुसार डीपीआर तयार हुने बित्तिकै मन्दिर निर्माणको बोलपत्र आह्वान गरिनेछ । प्रधानमन्त्रीको चाहनाबमोजिम अन्तर्राष्ट्रियस्तरको निर्माण गरिने सो मन्दिरका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क निर्माण गरिनेछ ।

अयोध्याधाम निर्माणका लागि नगरपालिकाले एक सय बिघा जग्गा धामको नाममा हस्तान्तरण गर्ने निर्णय गरी यसअघि नै मन्त्रिपरिषद्को कार्यालयलाई पठाइसकेको छ । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *