नेकपा सचिवालय बैठकमा प्रचण्डलाई ओलीको जवाफ

१३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको बहुप्रतिक्षितत सचिवालय बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक बसिरहेको हो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै प्रतिवेदन पेस गर्नुभएको छ ।
अध्यक्ष ओलीले लिखित प्रतिवेदन आफै बाचन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष ओलीको प्रतिवेदनसँगै नेकपा सचिवालयमा औपचारिक रुपमा दुई प्रतिवेदनमाथि छलफल हुनेछ ।
यसअघि ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । अघिल्लो पटक बसेको सचिवालय बैठकमा जवाफी प्रतिवेदन लेख्न १० दिनको समय माग्नुभएको थियो ।
आजको सचिवालय बैठक अघि प्रचण्डलाई प्रतिवेदन फिर्ता गराउन ओली पक्षले जोड गरेको थियो । प्रचण्डको प्रतिवेदनमा सचिवालयका अन्य चारजनाले पनि सहमति जनाएका छन् ।
सचिवालयले विवाद सुल्झाउन नसके दुबै प्रतिवेदन स्थायी कमिटी बैठकमा जानेछन् । नेकपाले यही १८ गते स्थायी कमिटी बैठक बोलाएको छ ।
यस्तै २५ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । स्थायी कमिटीमा पनि सहमति हुन नसके विवाद केन्द्रीय कमिटीमा जानेछ । गत मंसिर ३ गतेको सचिवालय बैठकपछि नेकपाका दुई अध्यक्षबीच भेटवार्ता समेत भएको छैन ।
प्रतिक्रिया