९७ लाख चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक ३० गते १५:४२
९७ लाख  चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

३० कात्तिक, २०७७ चितवन । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिनुभयो । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *