सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते १८:३८
सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान शुरु (भिडियोसहित)

६ कात्तिक, २०७७, धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी ४ जिल्लामा समिट एयरले नियमित उडान शुरु गरेपछि दशैं मनाउन घर जाने नागरिकलाई सहज भएको छ ।

१ दिन पुरै बसको यात्रा गरेर मात्रै पहाडी जिल्ला सदरमुकाम पुग्न सकिने अवस्था रहे पनि अहिले १५ देखि २० मिनेटमै यात्रा पूरा हुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले असोज १७ गते एकैदिन सुदूरपश्चिमका ३ बिमानस्थल उद्घाटन गरेपछि नियमित उडान पनि शुरु भएको हो ।

सुदूरपश्चिमका पहाडी केही जिल्लामा नियमित उडान हुन थालेपछि नागरिक खुशी भएका छन् । अहिले बैतडी, बझाङ, डोटी र बाजुरामा धनगढीबाट उडान भइरहेको छ । समिट एयरले यात्रु संख्याको आधारमा उडान भरिरहेको छ ।

पहाडी जिल्लामध्ये सबैभन्दा बढी यात्रु बझाङका छन् । यात्रु बढी भएकै कारण मंगलबार बझाङमा मात्रै समिट एयरले ३ वटा उडान भरेको छ । १ दिन पुरै यात्रा गरेर पनि गन्तब्यमा नपुग्ने यात्रुहरु अहिले १८(२० मिनेटमै पुग्न थालेपछि निकै खुशी भएका छन् । तर भाडादर बढी भएको यात्रुको गुनासो छ।

अहिले धनगढी–बझाङ पाँच हजार २ सय ४८, धनगढी–बैतडी चार हजार र धनगढी–डोटी तीन हजार दुई सय टिकट दर रहेको धनगढी विमानस्थलले जनाएको छ। दशैँ तिहारमा मात्रै नभई वर्षभरी नियमित उडान हुनुपर्ने पर्यटन ब्यवसायीको माग छ ।

अहिले धनगढी विमानस्थललाई आन्तरिक क्षेत्रीय विमानस्थलका रुपमा विकास गरी पहाडी जिल्लामा उडान थपिएको विमानस्थलले जनाएको छ । पूर्ण रुपमा क्षेत्रीय विमानस्थल बनाउनका लागि अझै जग्गा अधिकरण गर्न बाँकी छ । केही दिन यता उडान थपिएपछि विमानस्थलको आम्दानी पनि बढेको छ।

सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लामा नियमित हवाई उडान हुन सके भर्जिन ल्याण्डका रुपमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा निकै टेवा पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *