Political Hightlights

नेकपा अध्यक्षद्वयद्वारा पुरोना विवादमा नफर्कने बाचासहित अन्तरपार्टी निर्देशन जारी

हिमालय टिभी
२०७७ भदौ ३० गते १३:१३
नेकपा अध्यक्षद्वयद्वारा पुरोना विवादमा नफर्कने बाचासहित अन्तरपार्टी निर्देशन जारी

३० भदौ, २०७७, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो विवादतर्फ नफर्किने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थायी कमिटी बैठकपछि अन्तर पार्टी निर्देशन जारी गर्दै ओली र प्रचण्डले विगतमा जस्तो अन्तरविरोधपूर्ण विवाद नहुनेसमेत वाचा गर्नुभएको हो ।

स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय निर्धारण गर्ने र फेरि त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्ने अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।

अन्तर पार्टी निर्देशनमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटी बैठक अवरुद्ध हुनुलाई गम्भीर अवस्था भनिएको छ ।

सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोपप्रत्यारोप बन्द गर्ने र आफ्नो असहमति कमिटी प्रणालीअन्तर्गत मर्यादित रूपमा राख्न पनि भनिएको छ। गुटबन्दीपूर्ण क्रियाकलाप नगर्ने, गुटगत गतिविधि संरक्षण, प्रश्रय र प्रोत्साहन नदिनसमेत ओली र प्रचण्डले निर्देशन दिनुभएको छ ।

नेकपाले अराजकता,अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गर्नेलाई विधानअनुसार अनुशासनको कारबाहीसमेत गर्ने जनाएको छ।

सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागितालगायत राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनमा लागु गर्ने उल्लेख छ।

सामाजिक सञ्जालमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताका अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्नसमेत दुई अध्यक्षले निर्देशन दिनुभएको छ। पार्टीमा विवाद हुँदा देशीविदेशी प्रतिक्रियावादी शक्ति उत्साहित भएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्