प्रदेश ५ का कोरोना अस्पतालमा जनशक्ति र बजेट थप गर्ने निर्णय

हिमालय टिभी
२०७७ भदौ १९ गते १३:३४
प्रदेश ५ का कोरोना अस्पतालमा जनशक्ति र बजेट थप गर्ने निर्णय

१९ भदौ, २०७७ बुटवल । प्रदेश ५ सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप गरेको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती कर्मचारीलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ५ सय ८३ जना कर्मचारी र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट थप हुनेछ ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रदेश सरकारको निर्णयअनुसार भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप गर्ने निर्णय भएको छ ।

यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय भएको छ। प्रदेश सरकारले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद अस्पताल बेलझुण्डी दाङका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *