संगठित अपराधमा संलग्न पाँच जना विराटनगरबाट पक्राउ

हिमालय टिभी
२०७७ भदौ १७ गते १३:३४
संगठित अपराधमा संलग्न पाँच जना विराटनगरबाट पक्राउ

१७ भदौ, २०७७, विराटनगर । संगठित रुपमा आपराधिक कार्यमा संलग्न एक भारतीयसहित पाँच जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

मोरङ प्रहरीले भारतीय नागरिक बिहार राज्य सितामणि जिल्ला घर भई विराटनगर बस्दै आएका २७ वर्षीय राजु साह, मोरङ कटहरी–२ आदर्शनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साईन ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साहलाई विराटनगरबाट बुधबार बिहान पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अटोमेटिक पेस्तोल थान एक, त्यसमा प्रयोग हुने ३ थान गोली, विभिन्न कम्पनीका १६ थान मोवाइल सेट, एक थान चक्कु, नगद ९७ हजार १२०, नन्दकिशोरको डेराबाट थप नगद भारु ४९ हजार ४५० नेपाली रुपैयाँ ९ हजार २० रुपैयाँ बरामद गरेको छ । प्रहरीले आपराधिक घटनामा प्रयोग हुँदै आएको को ३२ प ७५२५, को १५ प २३१५,को ३६ प २७६२० नम्बरका तीन थान मोटरसाइकल पनि बरामद गरेको जनाएको छ ।

पीडितहरुको सूचनाको आधारमा प्रहरीले खोजी गरिरहेको अवस्थामा उनीहरुलाई विराटनगर र कटहरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुलाई हातहतियार खरखजना, आपराधिक लाभ, चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *