विराटनगरमा केही खुकुलो बनाउँदै निषेधाज्ञा ६ दिनका लागि लम्बियो

हिमालय टिभी
२०७७ भदौ १६ गते १८:०७
विराटनगरमा केही खुकुलो बनाउँदै निषेधाज्ञा ६ दिनका लागि लम्बियो

१६ भदौ, २०७७, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा यसअघि जारी निषेधाज्ञाका केही प्रावधानलाई परिवर्तन गर्दै थप ६ दिनका लागि बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले म‌ंगलबार जारी गरेको निषेधाज्ञा आदेश अनुसार मंगलबार राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्म निषेधाज्ञा कायम रहने उल्लेख छ ।

थप गरिएको निषेधाज्ञाको अवधिमा जोर गते जोर नम्बरका र विजोर गते बिजोर नम्बरका निजी सवारी साधन, यातायात साधनहरु सञ्चालन गर्नुपर्ने प्रावधान थपिएको छ ।

त्यसरी सवारी साधन चलाउँदा स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ । तर उक्त अवधिमा सार्वजनिक साधन भने सञ्चालन नहुने आदेशमा उल्लेख गरिएको छ । रिक्सा, सिटी सफारी पनि जोर बिजोर गरेरै सञ्चालन गर्नुपर्ने र बढीमा २ जना मात्रै यात्रु राख्नुपर्ने पनि जनाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो ४ बजेसम्म बजार पसल खोल्न पाइने पनि आदेशमा उल्लेख छ । यसअघि दिउँसो १२ बजेसम्म मात्रै बजार खुल्दै आएको थियो ।

यसअघिदेखिकै निर्णय बमोजिम गुद्री बजार, सैलुन, ब्यूटी पार्लर, हटिया, सब्जीमण्डी, कभर्डहल, जिमखानालाई बन्दलाई निरन्तरता दिइएको छ ।

राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न नपाउने, अत्यावश्यक कामबाहेक १० बर्षमुनि तथा ६० बर्षमाथिका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नपाउने पनि निषेधाज्ञा आदेशमा जनाइएको छ ।

भदौ २१ गतेदेखि न्यून संख्यामा कर्मचारी राखेर मात्रै सरकारी कार्यालयहरु खोल्ने र अत्यावश्यक सेवालाई भने निरन्तरता दिइने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *