समाज

धनकुटामा बिजुलीः आउने र जाने टुङ्गो नहुँदा धनकुटेली समस्यामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २७ गते १८:५७
धनकुटामा बिजुलीः आउने र जाने टुङ्गो नहुँदा धनकुटेली समस्यामा (भिडियोसहित)

२७ साउन, २०७७ धनकुटा । बिद्युत प्राधिकरणले नेपाललाई लोडसेडिङ्गमुक्त देश घोषणा गरिसकेको छ । तर धनकुटाका बासिन्दाले त्यसको अनुभूति गर्न पाएका छैनन् । अनियमित बिद्युत आपूर्तिका कारण धनकुटेलीले समस्या भोगिरहेका छन् ।

लोडसेडिङ्गमुक्त नेपालको नाराले धनकुटाका बासिन्दालाई भने अहिलेसम्म छुन सकेको छैन । कारण हो बिद्युत आपूर्तिमा बढ्दो अनियमितता । छिनमै आउने अनि छिनमै जाने, भोल्टेज कम हुने, तथा बिग्रिएपछि बनाउन केही दिन लाग्ने समस्याका कारण उपभोक्ता मारमा परेका छन् ।

विद्युतको अनियमितताका कारण लोडसेडिङ्ग हुँदाको समयमा भन्दा अहिले बढी पीडित भएको उपभोक्ताको गुनासो छ । लोडसेडिङ्ग हुँदा निश्चित समयमा जाने तर अन्य समय निरन्तर बिजुली आउने गरे पनि हाल भने पटकपटक बिजुली जाँदा हैरानी भएको छ ।

अझ ग्रामीण क्षेत्रमा त झनै समस्या छ । बिद्युतमा समस्या आएको लामो समयसम्म समाधाननै हुन सक्दैन । बिद्युतमा बढ्दो समस्याका कारण आफ्ना बालबालिकालाई अनलाइन कक्षामा पढाउनसमेत समस्या भएको अभिभावकको गुनासो छ ।

बिजुली नियमित नहुनुमा प्राधिकरणका पनि आफ्नै समस्या छन्। ग्रामीण क्षेत्रमा रहेका पुराना पोल जीर्ण भएकाले हावाहुरी र पानीले पटकपटक क्षति हुन गरेको छ । ११ केभी प्रसारण लाइनका करिब एक हजार तथा ग्रामीण क्षेत्रमा बिस्तार गरिएका लाइनमा करिब दश हजार जीर्ण पोल छन् ।

धरानबाट धनकुटासम्म आउने लाइन जंगलको बिचबाट आउने भएकाले पनि बिग्रँदा पत्ता लगाउनै समस्या हुने गरेको छ । एक फिडर बराबर बिस किलोमिटर मात्र वितरण गरिनुपर्ने भएपनि धनकुटामा ६० किलोमिटरसम्मको क्षेत्रमा विद्युत वितरण गरिएको छ ।

एउटा ट्रान्सफर्मरबाट दुई किलोमिटर क्षेत्रभित्र मात्र बिजुली वितरण गर्नुपर्ने भए पनि ५ किलोमिटरसम्म वितरण गरिएको छ । क्षेत्र धेरै तथा कर्मचारी थोरै भएकाले पनि समस्या आउने बित्तिकै सेवा दिन सक्ने गरी पर्याप्त कर्मचारी छैनन् । समस्या समाधानका लागि माथिल्लो निकायमा आग्रह गरे पनि समाधान भने हुन सकेको छैन ।

धनकुटामा हाल करिब २९ हजार घरधुरीले बिजुली प्रयोग गर्दै आएका छन् । तर कसैले पनि ढुक्कले बिजुली प्रयोग गर्न सक्ने अवस्था छैन । यसर्थ लाइन विस्तारको पूर्वाधार मजबुत बनाउनतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *