पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा देशभर कर्फ्यू

११ मंसिर २०८० सियरा लियोन । पश्चिम अफ्रिकी मुलुक सियरा लियोनमा देशभर कर्फ्यू लगाइएको छ ।
सशस्त्र समूहले राजधानी फ्री टाउनको पाडेम्बा रोडस्थित कारागार तोडफोड गरेर कैदीहरूलाई भगाएपछि देशभर कर्फ्यू लगाइएको हो । कति जना कैदीहरूलाई रिहा गरियो भन्ने कुरा स्पष्ट भइ नसके पनि आक्रमणकारीले धेरैजनालाई लगेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति जुलियस माडा बायोले आक्रमणकारीका धेरैजसो नाइकेलाई पक्राउ गरिएको बताए पनि कू को प्रयास अन्तर्गत आक्रमण नभएको दाबी गरेका छन् ।
गत अगस्टमा राष्ट्रपति विरुद्ध कू को षड्यन्त्र गरेको आरोपमा पक्राउ परेका सैनिकहरूलाई उक्त कारागारमा राखिएको थियो ।
गत जुनमा राष्ट्रपतिमा बायो पुनः निर्वाचित भएयता सियरा लियोनमा राजनीतिक अवस्था तनावपूर्ण छ ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मत गणनामा पारदर्शिता नभएको निष्कर्ष निकालेका थिए । सियरा लियोनको छिमेकी गिनीसहित पश्चिम र मध्य अफ्रिकाका आठ देशमा सेनाले कू गरि शासन हत्याएको छ ।
प्रतिक्रिया