खेलकूद

चार देशीय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको लगातार दोस्रो जित

हिमालय टिभी
२०८० भदौ ६ गते १७:४७
चार देशीय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको लगातार दोस्रो जित

६ भदौ २०८० काठमाडौं । इन्दु बर्माको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले चार देश सम्मिलित महिला टी–ट्वेन्टी आई सिरिजमा लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पुगेको छ । जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।

कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । अन्य कुनै पनि कुवेती ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालको लागि इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । इन्दु बर्माले १९ बलमा २ चौकासहित सर्वाधिक २३ रन बनाइन् । काजोल श्रेष्ठले १८ बलमा १ चौकासहित १९ रनको अविजित इनिङ खेलिन् ।

कुवेतकी महियम हैदरले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए पनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकिनन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्