विश्वकप फुटबल : फ्रान्सलाई सेनेगलको चुनौति
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह आई अन्तर्गत पहिलो खेलमा आज मध्यराती पूर्व विश्वविजेता फ्रान्सले अफ्रिकी शक्ति सेनेगलसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । यहि समूहको दोस्रो खेलमा लामो समयपछि विश्वकपमा फर्किएको इराक र स्टार खेलाडीले भरिएको नर्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार भोली बिहान पौने ४ बजे सुरु हुनेछ ।
फ्रान्स भर्सेस सेनेगल
यो खेलले पहिलो पटक एसियाली राष्ट्रहरु कोरिया-जापानले सन् २००२ मा आयोजना गरेको विश्वकपको उद्घाटन खेलको सम्झना गराउँछ । जहाँ सेनेगलले तत्कालीन डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध पारेको थियो । साबिक उपविजेता फ्रान्स यसपटक सोही गल्ती नदोहोऱ्याउने लक्ष्यमा छ ।
फ्रान्स
केलियन एम्बाप्पेजस्ता विश्वस्तरीय स्टार खेलाडीहरूले भरिएको
दुई पटकको विश्वविजेता फ्रान्स उच्च प्राविधिक र आक्रामक स्तरका लागि परिचित छ । प्रशिक्षक डिडिएर डेसच्याम्प्सको यो टोली गोलकिपिङदेखि स्ट्राइकरसम्म हेर्दा विश्वकपकै सबैभन्दा बलियो र सन्तुलित टोलीका रूपमा आएको छ । फ्रान्सको अट्याकिङ क्षमताले विपक्षीलाई निकै कठिन बनाउने गरेको छ ।
सेनेगल
यो टोलीमा शारीरिक रूपमा मजबुत र युरोपेली लिगहरूको राम्रो अनुभव भएका खेलाडीहरू छन् । कप्तान साडियो माने सम्भवतः आफ्नो अन्तिम ठूलो प्रतियोगिता खेल्दैछन्, जसले टोलीलाई थप ऊर्जा दिन सक्छ । गत अफ्रिका कप अफ नेसन्सको विवादास्पद फाइनलमा नतिजा उल्टाउँदै मोरक्कोलाई विजेता घोषणा गरेपछि सेनेगल भावनात्मक रूपमा अझ बलियो बनेको छ ।
हेड टु हेड
यि दुईबीच अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा भएको भेट भनेकै त्यहि जापान र दक्षिण कोरियाले संयुक्त आयोजना गरेको २००२ विश्वकपको उद्घाटन खेल हो । जहाँ खेलको पहिलो हाफमै सेनेगलले अग्रता लिँदै पाएको जितले तात्कालिन डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई समूह चरणबाटै घर पठाएको थियो ।
प्लेयर टु वाच
फ्रान्स
किलियन एम्बाप्पेः रियल म्याड्रिडका यी स्टार स्ट्राइकर फ्रान्सको आक्रमणका मुख्य हतियार हुन् । उनको गति र गोल गर्ने क्षमता विपक्षीका लागि टाउको दुखाइ बन्न सक्छ ।
सेनेगल
साडियो मानेः अल–नासरमा आवद्ध भेट्रान खेलाडी मानेको अनुभव र नेतृत्व क्षमता सेनेगलका लागि सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।
इराक भर्सेस नर्वे
४० वर्षपछि विश्वकपमा फर्किएको इराक र २८ वर्षपछि पुनरागमन गरेको नर्वेबीचको खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
नर्वे
यो टोलीमा वर्तमान फुटबलका घातक मानिने एर्लिङ हालान्ड र आर्सनलका कप्तान मार्टिन ओडेगार्ड जस्ता विश्वकै उत्कृष्ट मिडफिल्डर र स्ट्राइकरको जोडी छ । नर्वेको मुख्य रणनीति, ओडेगार्डले बल क्रियट गर्ने र हालान्डले त्यसलाई फिनिसिङ गर्नेमा केन्द्रित हुनेछ । यद्यपि, टोलीको डिफेन्स लाइन कहिलेकाहीँ कमजोर देखिने गरेको छ, जहाँ नर्वे सतर्क हुनु आवश्यक छ ।
इराक
एसियाली फुटबलमा बलियो छाप छोडेको इराक
सन् १९८६ पछि पहिलो पटक विश्वकप खेल्दैछ । इराकी टोली अनुशासित रक्षापंक्ति र जुझारु शैलीका लागि परिचित छ । मिडफिल्डमा जिदान इकबाल र आक्रमणमा अली जासिम जस्ता युवा प्रतिभाहरूले नर्वेलाई काउन्टर अट्याकमा समस्यामा पार्न सक्छन् । इराकको मुख्य लक्ष्य हालान्डलाई चल्न नदिई खेलबाट अंक खोस्नु हुनेछ ।
हेड टु हेड
इराक र नर्वे विश्वकप वा आधिकारिक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्लेयर टु वाच
नर्वे
एर्लिङ हालान्डः म्यानचेस्टर सिटीका मेसिन गोलकर्ता हालान्डले युरोपेली छनोटमा १६ गोल गर्दै नर्वेलाई विश्वकपमा पुऱ्याउन मुख्य भूमिका खेलेका थिए । उनलाई रोक्न इराकको डिफेन्सलाई निकै कठिन हुनेछ।
इराक
आयमेन हुसेनः इराकी आक्रमणको कमान सम्हाल्ने हुसेन टोलीका मुख्य गोलकर्ता हुन् । शारीरिक रूपमा बलिया हुसेन नर्वेली डिफेन्सका लागि चुनौती बन्न सक्छन् ।)

प्रतिक्रिया