विश्वकपमा पछिल्ला चारवटै खेल बराबरी
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ र ‘एच’ का पछिल्ला चारवटै खेलहरू बराबरीमा सकिएका छन्।
उपाधि दाबेदार एवम् पूर्व विश्वविजेता टोलीहरूलाई नयाँ र तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूले कडा टक्कर दिएपछि विश्वकपको अङ्क तालिका निकै रोचक मोडमा पुगेको छ । समूह ‘जी’ को खेलमा विश्वकपमा पहिलो पटक डेब्यु गरिरहेको सानो टापु राष्ट्र केप भर्डले युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेको छ । स्पेनले खेलभरि ६२ प्रतिशत बल पोसेसन राख्दै २३ पटक गोलको प्रयास गरे पनि केप भर्डका ४० वर्षीय गोलकिपर भोजिन्हा पर्खाल बनेर उभिँदा स्पेन अङ्क बाँड्न बाध्य भयो ।
समूह ‘जी’ कै अर्को रोमान्चक भिडन्तमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। खेलको १९औँ मिनेटमा मोहम्मद सालाहको उत्कृष्ट पासमा इमाम आसुरले गोल गर्दै इजिप्टलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ऐतिहासिक जिततर्फ अग्रसर इजिप्ट दोस्रो हाफमा अभागी साबित भयो । खेलको ६५औँ मिनेटमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुको कडा दबाबका कारण इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गर्न पुगेपछि खेल १-१ को बराबरीमा सकियो ।
यता मियामी स्टेडियममा भएको समूह ‘एच’ को खेलमा पूर्व विश्व विजेता उरुग्वे साउदी अरबसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको ४१औँ मिनेटमा अब्दुलइलाह अलअम्रीले गोल गर्दै साउदी अरबलाई अप्रत्याशित सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको उरुग्वे दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भयो र खेलको ७९औँ मिनेटमा म्याक्सिमिलियानो अराउजोले गोल गर्दै उरुग्वेको हार टारे ।
समूह ‘जी’ को अर्को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेलेका छन् । न्युजिल्यान्डका लागि एलिजा जस्टले खेलको ७औँ र ५४औँ मिनेटमा दुई उत्कृष्ट गोल गरे। दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै इरानका रामिन रेजायनले ३२औँ र मोहम्मद मोहेबीले ६३औँ मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

प्रतिक्रिया