विदेश

इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने

हिमालय टिभी
२०८० साउन २४ गते ८:१४
इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने

२४ साउन २०८० इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले खानलाई पाँच वर्ष चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

७० वर्षीय खानलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको तीन दिनपछि आयोगले यस्तो घोषणा गरेको हो । आयोगको निर्णयसँगै उनी सांसदबाट पनि बर्खास्त हुनेछन् ।

उनीमाथि प्रधानमन्त्री रहँदा प्राप्त महँगा उपहार बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले अगष्ट ५ मा तीन वर्षको जेल सजाय तोकेको थियो । उनी अहिले इस्लामावाद नजिकैको जेलमा छन् ।

पाकिस्तान तहरीक ए इन्साफ, पीटीआई का नेता खान सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए । तर सेनासँग मतभेदपछि संसदले अविश्वास प्रस्ताव पारित गरेपछि १० अप्रिल २०२२ मा उनी पदमुक्त भएका थिए ।

शहबाज शरिफ प्रधानमन्त्री बनेपछि खानविरुद्ध एक भन्दा बढी आरोपमा मुद्दा दायर भएको छ । खानले आफूमाथिका सबै आरोपको खण्डन गर्दै सबै राजनीति प्रेरित भएको बताउँदै आएका छन् ।

यस्तै भ्रष्टाचार आरोपविरुद्ध उनले इस्लामावाद उच्च अदालतमा दिएको मुद्दाको सुनुवाइ आज हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *