विदेश

देशव्यापी प्रदर्शनमा उत्रन पूर्वप्रधानमन्त्री खानको आह्वान

हिमालय टिभी
२०८० साउन २१ गते ८:१४
देशव्यापी प्रदर्शनमा उत्रन पूर्वप्रधानमन्त्री खानको आह्वान

२१ साउन २०८० इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन् ।

भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएपछि खानले पार्टीका कार्यकर्ता र समर्थकलाई देशव्यापी विरोध प्रदर्शनको आह्वान गरेका हुन् । पक्राउ पर्नुअघि रेकर्ड गरिएको भिडियो सन्देश सामाजिक सञ्जाल मार्फतउनले देशको भविष्यका लागि संघर्ष गरिरहेको उल्लेख गरेका छन् ।

तोशाखाना प्रकरण भनिने उपहार सम्बन्धी मुद्दामा इस्लामावाद जिल्ला अदालतले पाकिस्तानी एक लाख रुपैयाँ जरिवानाको फैसला पनि सुनाएको छ । उनले आरोप अस्वीकार गर्दै पुनरावेदन गर्ने बर्ताएका छन् ।

फैसलापछि खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको छ । निर्वाचन आयोगले खान अबको पाँच वर्ष निर्वाचन लड्न नपाउने जनाएको छ । पाकिस्तानमा तोशाखाना नामको एक सरकारी विभाग छ । जसमा प्रधानमन्त्रीलगायत सरकारी पदाधिकारीले विदेश यात्राका क्रममा प्राप्त गर्ने उपहारहरु राख्ने गरिन्छ ।

पाकिस्तानी विपक्षी दल तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष खान आफ्नो प्रधानमन्त्रीकालमा झण्डै ६ लाख ३६ हजार डलर बराबरका उपहार बिक्रि गरेको वा अपचलन गरेको आरोपमा दोषी ठहरिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *