पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तीन वर्षको जेल सजाय, निवासबाटै पक्राउ
२० साउन २०८० इस्लामावाद । पाकिस्तानको इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ । सजाय सुनाएलगत्तै खानलाई प्रहरीले घरबाटै पक्राउ गरी हिरासत लगेको छ ।
पाकिस्तानमा तोशाखाना प्रकरण भनिने उपहार सम्बन्धी मुद्दामा जिल्ला अदालतले तीन वर्षको कैद तथा पाकिस्तानी एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । अदालतको फैसलासँगै पाकिस्तान निर्वाचन आयोगले खान अबको पाँच वर्ष निर्वाचन लड्न नपाउने जानकारी दिएको छ ।
पाकिस्तानमा तोशाखाना नामको एक सरकारी विभाग छ । जसमा प्रधानमन्त्री, राष्ट्रपति लगायत ठूला सरकारी पदाधिकारीले कुनै यात्राका क्रममा प्राप्त गर्ने उपहारहरु राख्ने गरिन्छ ।
पूर्वप्रधानमन्त्री तथा पाकिस्तानी विपक्षी दल तहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष खान आफ्नो प्रधानमन्त्रीकालमा झण्डै ६ लाख ३६ हजार डलर बराबरका उपहार बिक्रि गरेको वा अपचलन गरेको आरोपमा दोषी ठहरिएका हुन् ।
इस्लामावाद अदालतको फैसलालगत्तै खान गिरफ्तार भएपछि तहरिक–ए–इन्साफ पार्टीले पक्षपातपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएको छ ।
प्रतिक्रिया