खेलकूद

उपाधि नजिते पनि नेपाली महिला भलिबलले बाल्यो आशाको दीप (भिडियो रिपोर्टसहित)

२०८० जेठ १४ गते २०:३०
उपाधि नजिते पनि नेपाली महिला भलिबलले बाल्यो आशाको दीप (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० काठमाडौं । दुई पटकको विजेता नेपालले काभा महिला भलिबल च्यालेन्ज कपको तेस्रो स्थान हात पार्‍यो । घरेलु कोर्टमा आज भएको खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपाल तेस्रो भएको हो ।

लगातार तेस्रो उपाधि जित्ने लक्ष्यसहित प्रतिस्पर्धा थालेको नेपाल सेमिफाइनलमा काजखस्तानसँग हार्दै पहिलो पटक फाइनल खेल्नबाट बञ्चित भयो । तर युवा र नयाँ खेलाडीको बाहुल्यता रहेको टोलीको प्रदर्शनले भने आशाको किरण संचार गरेको छ ।

सुरुवाती दुई खेलमा किर्गिस्तान र बंगलादेशलाई हराउँदै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको नेपाल अन्तिम ४ को खेलमा काजखस्तानसँग हार्दै फाइनलबाट बाहिरियो । तेस्रो स्थानका लागि भएको खेलमा पुरानो प्रतिद्वन्द्वी उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले तेस्रो स्थानमै चित्त बुझायो । उपाधि घरमै राख्ने लक्ष्यमा नेपाली टोली चुके पनि यो टोलीले धेरै सम्भावना भने देखाएको छ ।

सुरुवाती सेट गुमाए पनि त्यसपछि सानदार पुनरागमन गर्दै नेपालले तेस्रो स्थान हासिल गर्‍यो । युवा र नयाँ खेलाडीको बाहुल्यता रहेको टोलीमा यस पटक ६ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे ।

पछिल्लो पटक संस्करण उपाधि जित्दाका केही महत्वपूर्ण सदस्य बिना नै कोर्टमा उत्रिएको टोलीका लागि नयाँ खेलाडीले पनि संयमित र स्तरीय खेल देखाए । २०२१ मा भएको दोस्रो संस्करणको फाइनलमा नेपालसँगै हारेको उज्वेकिस्तानले नेपाली टोलीमा व्यापक सुधार देखे ।
यो खेल एसियाली खेलकुदका लागि लाभदायक हुने नेपाली टोलीको विश्वास छ ।

असोजमा चीनको होङझाउमा हुने एसियाली खेलकुदमा नेपालले महिला भलिबलमा पनि सहभागिता जनाउँदै छ । बलिया टोलीसँग खेल्नुअघि भएको च्यालेन्ज कपले खेलाडीलाई राम्रो एक्सपोजर दिलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्