भारको भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित
२ कात्तिक २०७९ नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन् ।
प्रदेशबाट चुनिएर आएका प्रतिनिधिहरूले गरेको मतदानमा उनले शशी थरुरलाई हराएका हुन् । कुल ९ हजार ३८५ मतमध्ये खड्गेले ७ हजार ८९७ मत पाएका छन् । थरुरले १ हजार ७२ मात्रै मत पाए ।
खड्गे अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्थान लिनेछन् । उनी २०१९ को लोकसभा चुनाव पछि राहुल गान्धीले राजीनामा गरेदेखि नै पदमा छिन् । सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छिन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् ।
छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् । खड्गेलाई बधाई दिँदै थरूरले ट्वीट गर्दै कार्य सफलताको कामना गरेका छन् ।
मतगणनाको पूर्वसन्ध्यामा, थरुर समूहले चुनावको क्रममा केही अनियमितता भएको आरोप लगाउँदै निर्वाचन समितिमा गुनासो गरेको थियो ।
खड्गेलाई गान्धी परिवारको समर्थन रहेको मानिएको थियो । झण्डै १३७ वर्ष पुरानो इतिहास बोकेको भारतीय कांग्रेसमा अध्यक्षका लागि छैटौं पटक चुनाव भएको हो ।
प्रतिक्रिया