विदेश

पाकिस्तान एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश

हिमालय टिभी
२०७९ भदौ १८ गते ७:३८
पाकिस्तान एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश

१८ भदौ २०७९ काठमाडौं । पाकिस्तान एसिया कप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत गएराति हङकङमाथि १५५ रनको फराकिलो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान पक्का पारेको हो । १९४ रनको लक्ष्यसहित मैदान ओर्लेको हङकङ १० दशमलव ४ ओभरमा ३८ रनमै अलआउट भयो ।

हङकङका कप्तान निजाकत खानले सर्वाधिक ८ तथा किन्चित शाहले ६ रन बनाए । हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

हङकङलाई कम रनमै समेट्न पाकिस्तानका शादब खानले ४, मोहम्मद नवाजले ३ तथा नसिम शाहले २ विकेट लिए । शादबले २ दशमलव ४ ओभरमा मात्र ८ रन खर्चिएर ४ विकेट लिन सफल भए ।

यसअघि शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेटको नोक्सानीमा १९३ रनको योगफल बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवान ७८ रनमा अविजित रहे ।

त्यस्तै फाखर जमानले ५३ रन जोड्दा खुशदिल शाहले नटआउट ३५ रन बनाए । बलिङतर्फ हङकङका इशान खानले दुबै विकेट लिए । पाकिस्तानले २ खेलबाट २ अंक जोड्दै अर्को चरणमा स्थानमा बनाउँदा हङकङ प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहमा साविक विजेता भारत लगातार दुई जित निकाल्दै यसअघि नै सुपर फोरमा प्रवेश गरिसकेको छ । पहिलो सुपर फोरमा आज श्रीलंकाले अफगानिस्तानको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *