विदेश

देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फिर्ता

हिमालय टिभी
२०७९ भदौ १८ गते ७:२५
देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फिर्ता

१८ भदौ २०७९ कोलम्बो । श्रीलंकामा गत जुलाईमा भएको जनप्रदर्शनपछि विदेश भागेका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

अस्थायी भिसामा थाइल्याण्ड बस्दै आएका राजापाक्षे सिंगापुर हुँदै स्वदेश फर्किएका हुन। केही मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ।

मुलुकमा इतिहासकै खराब आर्थिक संकटका लागि राजपाक्षेको सरकार दोषी मानिएको छ । श्रीलंकामा अहिले पनि विदेशी मुद्रामा आएको गिरावटले खाद्यान्न र इन्धनको चरम अभाव भएको छ ।

खाद्यान्न र इन्धनको मूल्यमा भएको तीव्र वृद्धिपछि गत अप्रिलमा सरकार विरोधी आन्दोलन शुरु भएको थियो। राजापाक्षे र उनका भाइ प्रधानमन्त्री महिन्दाको राजीनामा माग गर्दै ठूलो विरोध प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा धावा बोलेका थिए । त्यसपछि राजापाक्षे सैन्य विमानमा माल्दिभ्स र त्यसपछि सिंगापुरमा भागेका थिए ।

उनले त्यहींबाट राजीनामा दिएका थिए। यसपछि रनिल विक्रमासिंघेलाई राष्ट्रपति बन्ने बाटो खुला भयो। राजापाक्षेको फिर्ता नयाँ सरकारका लागि संवेदनशील विषय बनेको ठानिएको छ ।

प्रदर्शनकारीहरुले भने राजापाक्षेको फिर्ताको विरोध नगर्ने भन्दै उनले राजनीति वा सरकारमा पुन सामेल हुने कुनै पनि प्रयासको भने विरोध गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *