विदेश

कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढायो : राष्ट्रसङ्घ

हिमालय टिभी
२०७९ भदौ १ गते ९:१६
कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढायो : राष्ट्रसङ्घ

१ भदौ २०७९ न्युयोर्क । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङगठन (एफएओ) ले जनाएको छ ।

एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार एसियामा कुपोषणबाट प्रभावितको सङ्ख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ ।

यस्तै, कुपोषणको दर ७ दशमलव ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसङ्ख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ । नेपालमा सन् २०१७ देखि २०१९ अवधिमा कुपोषणको दर ४ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०२० मा ४ दशमलब ८ प्रतिशत पुगेको छ ।

यस्तै, सोही अवधिमा दक्षिण एसियाका अर्को राष्ट्र अफगानिस्तानमा कुपोषण दर २३ दशमलव ४ प्रतिशतबाट बढेर २५ दशमलव ६ प्रतिशत, भारतमा १४ प्रतिशतबाट बढेर १५ दशमलव ३ प्रतिशत, पाकिस्तानमा १२ दशमलव २ प्रतिशतबाट बढेर १२ दशमलव ९ तथा श्रीलङ्कामा ६ प्रतिशतबाट बढेर ६ दशमलव ८ प्रतिशत पुगेको बताइएको छ ।

डब्लूएफपीका अनुसार कोभिडका कारण बढेको बेरोजगारी र उत्पादनको बजार घटेसँगै खाद्य सङ्कट निम्तिएको हो । यसका साथै आय र रेमिटेन्स घट्दा पनि शहरी तथा ग्रामीण घरपरिवारको खाद्यान्न किन्ने क्षमतामा कमी आएको डब्लूएफपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *