विदेश

तनावबीच अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सीले गरिन् ताइवानी संसदमा सम्बोधन

हिमालय टिभी
२०७९ साउन १८ गते ९:२२
तनावबीच अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सीले गरिन् ताइवानी संसदमा सम्बोधन

१८ साउन २०७९ ताइपेई । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन् ।

संसदमा सम्बोधनको क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदान–प्रदान बढाउन चाहेको बताइन् । ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उनको जिकिर छ । उनले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने बताइन् ।

यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीको ताइवान भ्रमणबारे चीनका लागि अमेरिकी राजदूत नेकोलास बर्न्ससँग जवाफ मागेको छ ।
पेलोसीले आजै ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने बताइएको छ । पेलोसी गएराति ताइवान पुगेपछि अमेरिकी र चीनबीच तनाव थप चर्किएको छ । बढ्दो तनावकाबीच चीनको सेनाले आइतवारसम्म ताइवान वरपरका क्षेत्रमा सैन्य अभ्यास गर्ने चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच अघिल्लो साता दुई घण्टा लामो टेलिफोन वार्ता भएको थियो । वार्ताका क्रममा चीनले पेलोसीलाई ताइवानको भ्रमण नगर्न चेतावनी दिएको थियो ।

सन् १९९७ यता उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो । पेलोसी अमेरिकी सरकारको तेस्रो वरियताकी अधिकारी हुन् ।

उता अमेरिकी राष्ट्रपति कार्यालयले पेलेसीको ताइवान भ्रमणको समर्थन नगरेको र ताइवान भ्रमण उनको व्यक्तिगत निर्णय भएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *