विदेश

इराकी संसद भवनमा प्रदर्शनकारीले फेरि बोले धावा

२०७९ साउन १५ गते ७:२६
इराकी संसद भवनमा प्रदर्शनकारीले फेरि बोले धावा

१५ साउन २०७९ बगदाद । इराकमा प्रदर्शनकारीहरुले संसद भवनमा फेरि धावा बोलेका छन् ।

शिया धर्मगुरु मुस्तादा अल सद्रका समर्थकहरुले राजधानी बगदादमा रहेको संसद भवनमा दोस्रो दिन पनि धावा बोलेका हुन् । प्रदर्शनका क्रममा सुरक्षाकर्मीसहित १ सय २५ भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

६ जनाको अवस्था गम्भीर रहेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ । संसदमा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया अवरुद्ध पार्दै भएको प्रदर्शनको भोलिपल्टै फेरि प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेका हुन् ।

प्रदर्शनकारीहरुले विपक्षी उम्मेदवार मोहम्मद अल सुदानीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने प्रयास गरिरहेका छन् । अल सद्रका हजारौं समर्थक संसद भवनको उच्च सुरक्षा घेरा तोड्दै भित्र प्रवेश गरेका थिए । दलहरुको विवादका कारण नयाँ सरकार गठन हुन नसकेका बेला नौ महिनाको गतिरोधपछि प्रदर्शन चर्किएको हो ।

इराकको आन्तरिक मामिलामा अमेरिका र इरानको प्रभाव अन्त्य गर्न चाहने धर्मगुरु सद्रले अक्टोबरको चुनावपछि आफ्नो राष्ट्रवादी सेरोन आन्दोलनको जित भएको दाबी गरेका थिए तर बहुमत नपुग्दा विपक्षीलाई मिलाएर सद्रले नयाँ गठबन्धन सरकार निर्माण गर्न सकेनन् ।

नयाँ गठबन्धन सरकारको नेतृत्वको प्रयासमा रहेका सुदानी इरानसँग नजिक रहेको भन्दै उनको प्रधानमन्त्रीको उम्मेदवारीविरुद्ध सद्रका समर्थकहरु उत्रिएपछि इराकमा नयाँ सरकार गठन अन्योल बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *