रुसी कब्जामा रहेको क्षेत्रमा युद्धबन्दी मारिएको घटना छानबिनका लागि अनुमति दिन आग्रह
१४ साउन २०७९ युक्रेन । युक्रेनले रुसको कब्जामा रहेका क्षेत्रमा ५० भन्दा बढी युक्रेनी युद्धबन्दी मारिएको घटनामा छानबिनका लागि संयुक्त राष्ट्र संघ र रेडक्रसलाई अनुमति दिन आग्रह गरेको छ ।
रूस समर्थित पृथकतावादी डोनेट्स्क पिपुल्स रिपब्लिकको नियन्त्रणमा रहेको ओलेनिभकाको बन्दी शिविरमा भएको बमबारीमा ५० जना युद्धबन्दी मारिए थिए । रेडक्रसले घाइतेहरूलाई बाहिर निकाल्न र उपचारका लागि शिविरसम्मको पहुँच खोजिरहेको जनाएको छ ।
युक्रेन र रुसले भने एक अर्कामाथि आक्रमणको दोष लगाएका छन् । युक्रेनले यातना र हत्याको प्रमाण नष्ट गर्ने प्रयासमा रुसले उक्त शिविरमा आक्रमण गरेको दाबी गरेको छ । रूसले शिविरमा युक्रेनले रकेट प्रहार गरेको दाबी गरेको छ । तर युक्रेनले आरोप अस्वीकार गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई रूसी युद्ध अपराध भनेका छन् । शिविरमा गत मेमा दक्षिणी शहर मारिओपोलमा पक्राउ परेका युक्रेनी सेना थिए ।
रुसले उनीहरुलाई नव नाजी र युद्ध अपराधीको रूपमा चित्रण गर्न खोजेको थियो। यसैबीच किभले दक्षिणी खेर्सन क्षेत्रमा रुसी कब्जामा परेका क्षेत्र फिर्ता ल्याउने प्रयास गरिरहँदा रुसले घातक आक्रमण बढाएको छ ।
प्रतिक्रिया