विदेश

आलोचनाबीच अमेरिकी राष्ट्रपति बाइडेनद्वारा साउदी अरब भ्रमण

२०७९ असार ३२ गते ७:३७
आलोचनाबीच अमेरिकी राष्ट्रपति बाइडेनद्वारा साउदी अरब भ्रमण

३२ असार २०७९ रियाद । चर्को आलोचनाबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेका छन् ।

साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि साउदीसँग अमेरिकाको सम्बन्ध चिसिएको थियो । अमेरिकी गुप्तचर एजेन्सीले खशोग्गीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको जनाएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले साउदी युवराज मोहम्मद बिन सलमानसँगको भेटमा खशोग्गीको हत्याको विषय उठाएको बताए । रणनीतिक साझेदारी मजबुत बनाउन भन्दै साउदी पुगेका बाइडेनले खशोग्गीको हत्या आफु र अमेरिकाका लागि अन्त्यतै महत्वपूर्ण रहेको जनाएका छन् ।

राजकुमार सलमानले भने हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्या भएको थियो ।

साउदी एजेन्टहरूले खशोग्गीको हत्या गरेका थिए । मानवअधिकारको विषयलाई लिएर साउदी अरबको रेकर्ड राम्रो छैन । बाइडेन र राजकुमार सलमानबीच ऊर्जालगायतका विषयमा पनि छलफल भएको छ ।

विश्वमा प्रमुख तेल उत्पादक साउदी अरबले आगामी हप्ताहरूमा बजार स्थिर गर्न थप कदमहरू चाल्ने बाइडेनको अपेक्षा छ । अमेरिकी राष्ट्रपति बाइडेनले इजरायल जाने विमानका लागि साउदीले आफ्नो हवाई क्षेत्र पुनः खोल्ने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *