विदेश

देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले दिए राजीनामा

२०७९ असार ३१ गते ७:४८
देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले दिए राजीनामा

३१ असार २०७९ कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले पदबाट राजीनामा दिएका छन् ।

देश छोडेर भागेका राष्ट्रपति राजपाक्षेले सिङ्गापुर पुगेपछि राजीनामा दिएका हुन् । आर्थिक संकटविरुद्ध प्रदर्शन चर्किएपछि उनी मंगलबार राति भागेर माल्दिभ्स पुगेका थिए ।

उनीसँग उनकी पत्नी र दुई जना अंगरक्षक रहेको बताइएको छ । माल्दिभ्सबाट राजपाक्षे साउदी एयरलाइन्सको विमानमार्फत सिङ्गापुर पुगेका थिए । उनी त्यही बस्ने वा अन्यत्र जानेबारे भने यकिन हुन सकेको छैन ।

सिङ्गापुर सरकारले उनलाई निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश दिएको बताएको छ । उनले बुधबारभित्र राजीनामा दिने बताएका थिए । तर उनले तोकिएको समयभित्र कुनै पत्र पठाएनन् ।

यद्यपि हिजो अबेर श्रीलंकाको संसद्‌का सभामुखले राजपाक्षेले राजीनामा पत्र पठाएको जानकारी गराए । राष्ट्रपति हुँदा अभियोगबाट उन्मुक्ति पाएका उनी नयाँ सरकार बनेपछि पक्राउ पर्नबाट बच्न विदेश भागेको अनुमान गरिएको छ ।

राजधानी कोलम्बोमा प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामाको खबरलाई स्वागत गरेका छन् । राष्ट्रपति राजपाक्षेले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति नियुक्त भएका छन् ।

लगत्तै उनले देशमा संकटकाल घोषणा गरेका छन् । प्रदर्शनकारीले विक्रमासिंघेको पनि राजीनामा मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *