विदेश

श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीको नियन्त्रणमा

२०७९ असार २९ गते १६:३६
श्रीलंकामा संकटकाल घोषणा, प्रधानमन्त्रीको कार्यालय प्रदर्शनकारीको नियन्त्रणमा

२९ असार २०७९ कोलम्बो । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापक्ष माल्दिभ्स पलायन भएको केही समयपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकाल घोषणा गरेका हुन्।

गोटाबाय विदेश पलायन भएपछि प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय अन्तरिम सरकार गठन गरेर पदबाट हट्ने बताएका छन्। गोटाबायले आज राजीनामा दिने बाचा गरेका थिए।

यता प्रधानमन्त्री विक्रमासिंघेले सेनालाई शान्ति सुव्यवस्था कायम राख्नका लागि आवश्यक सबै कदम चाल्न आदेश दिएका छन् । टेलिभिजन सम्बोधन गर्दै विक्रमासिंघेले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट हटन र सुरक्षाकर्मीलाई सहयोग गर्न प्रदर्शनकारीलाई आग्रह समेत गरेका छन् ।

श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले पदत्याग गरेपछि स्वतः प्रधानमन्त्री ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्छन्।

यता प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्‌का सभामुखले बताएका छन्। एक महिनाका लागि अन्तरिम राष्ट्रपति नियुक्त भएपछि नयाँ निर्वाचन हुन सक्नेछ।

यसैबीच सङ्कटकाल घोषणा गरेको केही समयपछि नै प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयमा धाबा बोलेका छन् । गत शनिबार मात्र उनीहरुले राष्ट्रपति कार्यालयमा धावा बोल्नुका साथै विक्रमासिंघेको निवासमा आगजनी गरेका थिए ।

उता श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ। प्रदर्शनकारीको भिड टेलिभिजनको कार्यालयमा छिरेपछि प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *