विदेश

जनताले राष्ट्रपति भवन कब्जा गरेपछि राजीनामा दिने राष्ट्रपति राजापाक्षेको घोषणा

हिमालय टिभी
२०७९ असार २६ गते ७:५९
जनताले राष्ट्रपति भवन कब्जा गरेपछि राजीनामा दिने राष्ट्रपति राजापाक्षेको घोषणा

२६ असार २०७९ कोलम्बो । श्रीलंकामा राष्ट्रपति गोटाबाया राजपाक्षेले राजीनामा दिने घोषणा गरेका छन् ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा र प्रधानमन्त्रीको सरकारी निवासमा आगजनी गरेको केही समयपछि नै गोटाबायले जुलाई १३ मा राजीनामा दिने घोषणा गरेका हुन् ।

श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धना कामचलाउ राष्ट्रपति बन्ने छन् । संवैधानिक प्रावधान अनुसार राष्ट्रपतिले राजीनामा दिएपछि उनलाई राष्ट्रपतिको कार्यभार सम्हाल्न दिने पार्टीले निर्णय गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति राजपाक्षेलाई सेनाको सुरक्षामा राखेको बताइएको छ । दशकौँयताको खराब आर्थिक सङ्कटलाई राष्ट्रपतिले सही ढङ्गले सम्बोधन नगरेको भन्दै आक्रोशित प्रदर्शनकारी हिजो राष्ट्रपति भवन प्रवेश गरेका थिए ।

प्रदर्शन चर्कंदै गएपछि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न तयार रहेको बताएका थिए । प्रदर्शनकारीले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मूख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थका लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।

२ करोड २० लाख जनसंख्या रहेको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छूटजस्ता कारणहरूले श्रीलङ्काको अर्थतन्त्र सङ्कटमा परेको देखिन्छ।

विदेशी मुद्राको निरन्तर अभाव र अकासिएको महँगीले औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव भइरहेको छ। यो स्थिति आउनुमा राष्ट्रपति राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *