युक्रेन र मोल्डोभालाई युरोपियन युनियनको उम्मेद्वारको दर्जा प्रदान

१० असार २०७९ युक्रेन । युक्रेन र मोल्डोभालाई युरोपियन युनियनको उम्मेद्वारको दर्जा प्रदान गरिएको छ ।
युक्रेन र मोल्डोभा दुबैलाई ईयू उम्मेद्वारको दर्जा दिइएको युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलले घोषणा गरे । दुबै राष्ट्रका लागि ईयू तर्फको मार्गमा एउटा महत्त्वपूर्ण कदम भएको बताउँदै उनले युरोपेली परिषदको निर्णयलाई ऐतिहासिक क्षणको रूपमा वर्णन गरे ।
युक्रेनले फेब्रुअरी महिनामा रूसी आक्रमणको केही दिन पछि यसका लागि उम्मेदवारी दिएको थियो । ईयूको निर्णयको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्वागत गरेका छन् ।
युक्रेन र ईयू सम्बन्धमा एक अद्वितीय र ऐतिहासिक क्षण रहेको र युक्रेनको भविष्य ईयू भित्रै रहेको उनको भनाइ छ ।
युरोपेली संसदले युक्रेनको ईयू उम्मेदवारीलाई अनुमोदन गरेपनि संगठनमा सामेल हुन धेरै वर्ष लाग्न सक्छ र त्यो सफल नै हुने कुनै ग्यारेन्टी पनि हुँदैन ।
ईयू सदस्यका लागि पश्चिमी बाल्कन देशहरू अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनिग्रो र सर्बिया वर्षौंदेखि उम्मेदवार छन् ।
प्रतिक्रिया