ताइवान स्वतन्त्रताको षड्यन्त्रमा सामेल भए युद्ध शुरु हुने चीनको चेतावनी

२८ जेठ २०७९ काठमाडौं । चिनियाँ रक्षामन्त्री वेङ फेङगीले ताइवान स्वतन्त्रताको षड्यन्त्रमा सामेल भए युद्ध शुरु गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।
अमेरिकी समकक्षी लियोड अस्टिनसँग सिंगापुरमा भएको पहिलो प्रत्यक्ष भेटमा उनले ताइवानलाई चीनबाट अलग गर्ने साहस कसैले गरे चिनियाँ सेना युद्ध शुरु गर्न नहिचकिचाउने चेतावनी दिएका हुन् ।
ताइवानको स्वतन्त्रताको प्रयास विफल पार्न, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चिनियाँ सेनासंग युद्ध बाहेक अर्को विकल्प नहुने फेङगीको भनाइ छ ।
अमेरिकी रक्षामन्त्री अस्टिनले भने बेइजिङले ताइवानतर्फ थप अस्थिर कार्य गर्नबाट टाढा रहनु पर्ने बताएका थिए । उनले ताइवानमा वाशिंटनको अडान अपरिवर्तित रहेको दोहोर्याए ।
अमेरिका ताइवानको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक र हतियार आपूर्तिकर्ता हो । पछिल्लो समय चीनले ताइवान नजिक सैन्य गतिविधि बढाएको छ ।
ताइवान एक स्वशासित टापु हो, जसलाई चीनले आफुबाट अलग्गिएको टापुको रुपमा हेर्ने गरेको छ । ताइवानले आफ्नो भविष्यको निर्णय गर्ने अधिकार आफ्ना जनतालाई मात्र रहेको बताउँदै आएको छ ।
प्रतिक्रिया