विदेश

कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु भएको डब्लुएचओको अनुमान

हिमालय टिभी
२०७९ वैशाख २३ गते ७:५४
कोरोनाका कारण १ करोड ५० लाखको मृत्यु भएको डब्लुएचओको अनुमान

२३ वैशाख २०७९ न्युयोर्क । विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमानित विवरण सार्वजनिक गरेको छ ।

यो महामारी शुरु भएपछि पछिल्लो दुई वर्षमा मृत्यु हुनेको संख्या भन्दा १३ प्रतिशत बढी हो । डब्लुएचओले धेरै देशले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या कम गणना गरेको जनाएको छ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५४ लाख मात्रै गणनामा समावेश छ। भारतमा मात्रै कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको हुनसक्ने डब्लुएचओको अनुमान छ।

यो सङ्ख्या आधिकारिक तथ्याङ्क भन्दा १० गुणा बढी हो। तर भारतले यसमाथि प्रश्न उठाएको छ। डब्लुएचओले महामारी शुरु भएपछि मृत्यु हुनेको सङ्ख्या महामारी अघिको त्यही समयको मृत्युदरको अन्तर हेरेको जनाएको छ।

थप ९५ लाख मृत्युका अधिकांश घटना कोरोनाको प्रत्यक्ष असरका कारण भएको डब्लुएचओको दाबी छ। सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *