विदेश

अफगानिस्तानमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी, तालिवानद्वारा विमानस्थल र जेल कब्जा

हिमालय टिभी
२०७८ साउन ३१ गते १७:०७
अफगानिस्तानमा शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी, तालिवानद्वारा विमानस्थल र जेल कब्जा

३१ साउन २०७८ काबुल । अफगानिस्तानको सरकारले शान्तिपूर्ण रुपमा विद्रोही समूह तालिवानलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेको छ ।

विद्रोही समूह तालिवान राजधानी काबुल मै प्रवेश गरेपछि अफगानिस्तानका कार्यवाहक आन्तरिक मामिला मन्त्रीले संक्रमणकालिन सरकार गठनको तयारी भइरहेको र त्यसका लागि छलफल चलिरहेको बताएका बीबीसीले जनाएको छ ।

यसका लागि छलफल गर्न तालिवान प्रतिनिधि राष्ट्रपति भवन पुगेका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आपत्तकालीन बैठक बोलाएका छन् । तालिवानले बल प्रयोग गरेर कब्जा नगर्ने बताएपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि छलफल शुरु भएको हो ।

तालिवान नेताहरुले लडाकूलाई थप अघि नबढ्न र हिंसात्मक गतिविधि नगर्न निर्देशन दिएका छन् ।

बिहान पूर्वी सहर जलालावाद कब्जा गरेका विद्रोही सामान्य प्रतिरोधको सामाना गर्दै आजै काबुल पुगेका हुन् । लडाकूहरु राजधानी काबुल छिरेपछि आज काबुलका सबैजसो पसल बन्द छन् ।

बैंकहरुमा पैसा निकाल्नेको भीड लागेको दृश्य बीबीसीले प्रशारण गरेको छ। सरकारी कर्मचारीले पनि कार्यालय छाडेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सत्ता हस्तान्तरणको तयारी भएपछि तालिवानले आक्रमण नगर्न र अफगानिस्तान छाडेर जान चाहनेलाई सकुशल जान दिन आफ्ना लडाकूलाई निर्देशन दिएको छ । विद्रोहीले विमानस्थल, अस्पताललगायतका आकस्मिक सेवा जारी राख्न निर्देशन दिएका छन् ।

विदेशी नागरिकहरु धमाधम बाहिरिँदै गर्दा कूटनीतिक नियोगहरु खाली गरिँदैछ। तालिवानी लडाकुहरु काबुल छिर्दै गर्दा अमेरिकी कूटनीतिज्ञहरु भने हेलिकोप्टर चढेर अफगानिस्तानबाट बाहिरिएका छन्।

चारैतिरबाट घेरेर काबुल छिरेका विद्रीहले यसअघि काबुल बाहेक सबै मुख्य शहरमा नियन्त्रण कायम गरेका थिए । अमेरिकी नेतृत्वको नेटो सैनिकले सन् २ हजार १ देखिको सैन्य अभियान समाप्त गरेपछि आक्रामक भएको तालिवानले अफगानिस्तान कब्जा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *